सिमरा सेजको बाधक बन्दै ‘सेजको कार्यशैली’

बारा : विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ले पूर्णता पाउन नसक्नुमा सेज निर्माण समूह नै दोषी देखिएको स्थानीय सरोकारवालाले आरोप लगाएका छन्।

बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र स्थानीय सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय सरोकारवालाले निर्माण सम्पन्न भइसकेको सिमरा सेजको ए ब्लकमा उद्योग सञ्चालन तथा बाँकी ब्लकहरुमा भौतिक पूर्वाधार निर्माणको काममा सरकार गम्भीर नबनेको आरोप लगाएका हुन्।

सेज सञ्चालनमा अत्यावश्यक कार्यहरु सम्पन्न गर्नेतर्फ समयमा ध्यान नपुर्‍याउँदा चुनौतीको चाँङ्ग लागेको उनीहरुको दाबी छ। सेजको जग्गा अतिक्रमणको क्रम बढ्नु, मुख्य सडकबाट सेजसम्म पुग्ने बाटो निश्चित नहुनु, आवश्यक क्षमताको बिजुली आपूर्तिका लागि सवस्टेशन नबन्नु जस्ता कार्यले सेज कार्यान्वयनमा आशंका बढेको स्थानीयको आरोप छ।

जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामीछानेले मुख्य सडकसँग र सेज जोड्ने सडकको निर्क्योल नहुनु र भएको बाटोको पनि मर्मत सम्भार नहुनुले सेजप्रति उद्योगीको आकर्षण घटेको दाबी गरे।

सेजमा स्थापना गरिने उद्योगका लागि ऋण लिने, दर्ताका लागि सिफारिस दिने जस्ता प्रविधिक विषयमा स्पष्ट हुने वातावरण तयार गर्न पनि सेज चुकेको उनले बताए।

सेजको जग्गा अतिक्रमण गरेर पक्की संरचना निर्माण भइरहँदा पनि सरोकारवालापक्ष मूकदर्शक बनेको तर्क छ स्थानीय शरद चन्द्र भट्टराईको। उनी भन्छन्, ‘वडा नं. १४ र १५ मा सेजको जग्गा ओगटेर विक्रीवितरण तथा खेती गरिएको छ, आज सामान्य मानेर बेवास्ता गरिएको यो पाटोले भोलि ठूलै बाधा निम्त्याउने छ। ती पक्की संरचनाले टाउको दुखाउनेछन्।‘

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रामशरण लामिछानेले सेज अतिक्रमण गरी बसेकाहरूलाई व्यवस्थापन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिए। उनले समयमै अव्यवस्थित वसोवासीलाई व्यवस्थापन नगरे घरधुरी बढ्न जाने र जनप्रतीनिधी सहित सेजले थप चुनौतीको सामना गर्नुपर्ने बताए।

सेजेको ए ब्लक बाहेक डि र ई ब्लकको करिव ५ सय बिगाहा जग्गा पूरै अतिक्रमणमा परेको छ। विभिन्न जिल्लावाट आएका बाढी प्रभावित, सुकुम्बासी र केही भूमाफियाले प्रतिपरिवार १० कठ्ठा देखि ५ बिगाहा सम्म भोगचलन गर्दै आएका छन्। अन्य दूई ब्लक सि र डि मा पनि अतिक्रमणको समस्या रहेको छ।

विगतका रैथाने थारु समुदायलाई हटाएर विरगंज चिनी कारखानाले लिएको जग्गा अहिले सेज निर्माणमा प्रयोग गर्ने भनिए पनि व्यक्तिले ओगट्ने वातावरण तयार हुनुले थारु समुदाय रुष्ट बनेको छ।

थारूहरूको मुख मोसेर अन्यत्रबाट आएकाहरुलाई पोस्ने अवस्थामा रहेमा स्थानीय थारु समुदाय सेज विरुद्ध आन्दोलीत बन्ने चेतावनी स्थानीय कृष्णदेव चौधरीले दिए।

विगतमा सेज निर्माण शुरु हुनु अघि स्थानीय सेज सहयोग समितिसँग स्थानीयलाई रोजगारी दिने, सडक तथा अन्य स्थानीय पूर्वाधारका लागि वजेट दिने लगायतको ५ बुँदे सम्झौता गरिएको भएपनि हाल सो विषयलाई भुलेर सेज निर्माण कार्य अघि बढ्नु दुःखद पक्ष रहेको बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले बताए।

‘काम कम कुरा बढी’ हुँदा सेजको कार्य प्रगति सोचेअनुरूप नभएको स्थानीय मदनबहादुर क्षेत्रीको भनाइ छ। सेजले आफ्नो भवनमा ताल्चा मारेर महंगा होटेलमा सेजका कार्यक्रम गर्ने गरेको भन्दै सेजका नाममा राज्यकोषको दूरुपयोग रोक्न आग्रह गरे।

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरदेखि सेज सम्मको पहुँचमार्ग, औद्योगिक सुरक्षा, बैंकको ब्याजदर, उद्योग स्थापना गरेको ५ वर्षपछि ६० प्रतिशत छिमेकी देशसहित तेस्रो मुलुक निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्थाको कारण देखाउँदै सेजप्रति उदासिन देखिएका उद्योगीहरु सेजमा लगानी गर्न जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाउनुपर्ने माग राखिरहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close