पर्सा–१ मा विपक्षी कमजोर, ४३१ नेता–कार्यकर्ता कांग्रेसमा आवद्ध

बरुसुदिन अन्सारीको सक्रिय पहल नेतृत्वमा प्रसौनी सबैठवामा आयोजित विशेष कार्यक्रममा क्षेत्रका ४३१ जना स्थानीयवासीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। केही दिनअघि मात्र नेकपा एमालेका दिग्गज नेता बरुसुदिन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उहाँले लामो समयदेखि क्षेत्रको सामाजिक तथा राजनीतिक नेतृत्व गर्दै आउनुभएको र विकास तथा समावेशी राजनीतिप्रति आफ्नो स्पष्ट धारणा राख्दै आउनुभएको सन्दर्भमा यस पटक ४३१ जनाको सामूहिक प्रवेशलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अन्सारीले क्षेत्रको विकास, सामाजिक सद्भाव र जनताको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस नै उपयुक्त शक्ति भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।
पार्टी प्रवेश गर्नेहरूमध्ये एमालेका नेता ताजुदिन अन्सारी, जसपाका प्रदेश सदस्य मुस्ताक अन्सारी, एमाले वडाकमिटीका सचिव रेयाज अन्सारी, सद्भावना पार्टीका नेता रामनरेश यादव, माओवादी पार्टीका पूर्व जिल्ला सदस्य अच्छेलाल पासवानलगायत ४३१ जना स्थानीयवासी रहेका छन्। नवप्रवेशीहरूलाई पार्टीका नेता तथा कार्यकर्ताले खादा तथा टीका लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटा ले जनताको विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्नुभयो। उहाँले पर्सा क्षेत्र नं. १ को समग्र विकास, रोजगारी सृजना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो कि अब क्षेत्रलाई पछि पार्ने राजनीति होइन, विकास र समृद्धिको राजनीतिमा अघि बढ्नुपर्ने समय आएको छ। रुङटाले सबै राजनीतिक दल र समुदायबीच सहकार्य र सहमतिको वातावरण निर्माण गर्दै दीगो विकासको आधार तयार गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
उम्मेदवार रुङटाले भन्नुभयो, “जनताको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। प्रसौनी सबैठवाका करिब ४३१ जना गाउँका बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू पार्टीमा आबद्ध हुनु सकारात्मक सन्देश हो।”
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्ने धारणा राखेका थिए। नवप्रवेशीहरूले पनि क्षेत्रको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका थिए। पार्टी प्रवेश कार्यक्रमले पर्सा क्षेत्र नं. १ को राजनीतिक माहोललाई थप सक्रिय बनाएको स्थानीयवासीहरूको भनाइ छ।
यसै क्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जर्नादन सिंह क्षेत्री ले कार्यक्रममा सम्बोधन गर्दै पार्टीभित्रको एकता र जनतासँगको निकट सम्बन्ध नै कांग्रेसको मुख्य शक्ति भएको बताउनुभयो। उहाँले संगठन सुदृढीकरण र घरदैलो अभियानलाई तीव्र बनाउँदै आगामी निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदी ले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि कांग्रेस सधैं अग्रपंक्तिमा रहेको उल्लेख गर्दै अहिलेको राजनीतिक परिस्थितिमा जिम्मेवार र दूरदर्शी नेतृत्वको आवश्यकता औंल्याउनुभयो। उहाँले नवप्रवेशीहरूलाई पार्टीको नीति र सिद्धान्तअनुसार सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
त्यस्तै नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ले क्षेत्रको विकासका लागि सबै समुदायको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सामाजिक सद्भाव, युवा सशक्तीकरण तथा आर्थिक समृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नवप्रवेशीहरूलाई पार्टी गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।






