जीतपुरसिमरा–सिमरामा रहबर अन्सारीको घरदैलो तीव्र, पक्षमा समर्थन बढ्दो

बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहबर अन्सारीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। शनिबार बिहान जीतपुरसिमरा–१,२,३ र ४ अन्तर्गत सिमरा, औराहा क्षेत्रमा घरदैलो तथा जनसंवाद कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। सयौँ मतदाताले फूलमाला तथा गम्छा ओढाएर अन्सारीको स्वागत गरेका थिए। पूर्वप्रदेशमन्त्रीसमेत रहेका अन्सारीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफूले गरेका विकास गतिविधिको मूल्याङ्कनका आधारमा मत दिन आग्रह गरे।

उनले क्षेत्रको विगत अवस्थालाई स्मरण गराउँदै पूर्वाधार क्षेत्रमा भएको परिवर्तनबारे चर्चा गरे। सडक, विद्यालय, धार्मिक स्थल, खेलमैदानलगायत संरचनामा सुधार आएको दाबी गर्दै उनले आफू क्षेत्रका टोल–बस्ती र स्थानीय समस्यासँग परिचित उम्मेदवार भएको बताए। अन्य प्रतिस्पर्धीहरू स्थानीय यथार्थसँग अपरिचित रहेको उनको संकेत थियो।

रा.स.पा.ले अघि सारेको राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि तथा समाजवाद उन्मुख विकासको मार्गलाई आत्मसात् गर्दै अघि बढेको उल्लेख गर्दै अन्सारीले चुनावी समयमा मात्र सक्रिय हुने नेतृत्वबाट सतर्क रहन आग्रह गरे। “जनताको सुख–दुःखमा सधैँ साथ दिने नेतृत्व आवश्यक छ,” उनले भने।

उनले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवद्र्धन, स्थानीय उद्योग विस्तार, महिला सशक्तीकरण र युवा अवसर वृद्धि जस्ता योजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। घण्टी चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दै प्रमाणित नेतृत्वलाई समर्थन गर्न आग्रह गरे।

अन्सारीले विगतमा सडक, विद्यालय, अस्पताल, धार्मिक संरचना, मसानघाट, तथा विद्युत् विस्तारका क्षेत्रमा काम गरेको दाबी गरे। संसद्मा मधेशका मुद्दाहरू निरन्तर उठाउँदै आएको पनि उनले स्मरण गराए।

घरदैलो कार्यक्रममा रा.स.पाका विभिन्न तहका नेता–कार्यकर्ता, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close