सुशासन र प्रविधिमैत्री सेवाको प्रतिबद्धता लिएर जगरनाथपुर पुगे अनिल रुङटा

वीरगञ्ज । पर्सा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत जगरनाथपुर क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवार अनिल कुमार रुङटालाई स्थानीय बासिन्दाले उत्साहपूर्ण स्वागत गरेका छन्। उनको आगमनसँगै क्षेत्रको चुनावी माहोल थप तातेको छ। गाउँ–टोलमा समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ भने राजनीतिक छलफल र भेटघाट कार्यक्रमहरू सक्रिय रूपमा अघि बढिरहेका छन्।
जगरनाथपुर वडा नं. २२ मा बुथ सभापति नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आसपासका टोलहरूमा पनि भेला, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
घरदैलो अभियानका क्रममा पुगेका रुङटालाई स्थानीयले फूलमाला र अबिरसहित स्वागत गर्दै समर्थन जनाएका थिए। उनले प्रत्येक टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू सुनेका छन्। सहभागीहरूले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, महिला सशक्तीकरण, सीप विकास तथा खेलकुद पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।
सम्बोधनका क्रममा रुङटाले निर्वाचनलाई “कार्यशैली र नतिजा परिवर्तन गर्ने अवसर” का रूपमा व्याख्या गर्दै सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणालीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। पर्सा–१ को दीर्घकालीन विकास तथा राष्ट्रिय नीति निर्माणमा युवा दृष्टिकोण समावेश गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए।
मतदाताबाट अत्यधिक समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले चुनावपछि पनि निरन्तर जनतामाझ रहेर विकास निर्माणका कामलाई गति दिने अठोट व्यक्त गरेका छन्। स्थानीय स्तरमा देखिएको उत्साह र सहभागिताले आगामी निर्वाचनमा पर्सा–१ मा प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ।






