डिभिजन वन कार्यालय बाराको अनौठो उपहार

डिभिजन वन कार्यालय बाराले जिल्लामा आउने विशिष्ट अतिथिलाई अनौठो उपहार दिने गरेको छ । मन्त्री, सचिव तथा विभागबाट आउने उच्च तहका कर्मचारीलाई सो कार्यालयले उपहारस्वरुप ‘भीम सखुवा’को तस्वीर दिने गरेको हो ।
करिव एक वर्षअघि वन विभागका तत्कालीन महानिर्देशक मानबहादुर खड्का सेवा निवृत्त भएपछि उपहार स्वरुप भीम सखुवाको तस्वीर प्रदान गरिएको थियो । त्यसयता हालसम्म मधेस प्रदेशका वन मन्त्री शत्रुधन महतोसहित वन सचिव, विभागका महानिर्देशक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख, प्रदेशका वन सचिव गरी दर्जनौं अतिथिलाई वन कार्यालय बाराले भीम सखुवाको तस्वीर प्रदान गर्दै आएको छ ।
पछिल्लो समय वनजंगलको विषयमा राष्ट्रिय रुपमा हुने छलफलमा बाराको भीम सखुवाको चर्चा हुने गरेको अहमदले जनाए । जिल्लाको १६ वटा पालिकामध्ये उत्तरतर्फ रहेका जीतपुर सिमरा, कोहल्वी र निजगढ नगपालिकामा मात्रै राष्ट्रिय, साझेदारी तथा सामुदायिक वन छ भने दक्षिणतर्फ केही ठाउँमा निजी वनको सुरुवात भएको छ ।
बाराका डिभिजन वन अधिकृत विनोद सिंह २०४५ सालमा वन विज्ञान अध्ययन भम्रणमा क्रममा बाराको भीम सखुवा हेर्न आएको बताउँछन् । ‘२०४६ सालमा अहिलेजस्तो बाटो राम्रो थिएन, तर हामीले अध्ययन भ्रमणको क्रममा नेपालकै सबैभन्दा पुरानो र मोटो रुख भनेर भीम सखुवा हेर्न बारा आएका थियौं,’ सिंहले भने । पछिल्लो समय धार्मिक रुपमा पनि स्थानीयले भीम सखुवालाई पूजा गर्दछन् । यो रुखको विषयमा खासै अध्ययन अनुसन्धान नभए पनि यो नेपालकै इतिहासमा साल प्रजातिको पुरानो र मोटो रुख भएको अनुमान गरिएको छ ।
महाभारतमा भीम सबैभन्दा बलियो र मोटो भएको हुनाले यो रुखको नाम ‘भीम सखुवा’ राखिएको हुन सक्ने मान्यता छ । करिव २ सय वर्ष पुरानो यसको गोलाई १८ फिट छ । यो रुख पूर्व–पश्चिम राजमार्गको तामागढी गेटदेखि कोहल्वी जाने सडकखण्डमा पर्दछ । वन विभागका पूर्व महानिर्देशक मानबहादुर खड्का नेपालमा पाइने साल प्रजातिको रुखमध्ये भीम सखुवा सबैभन्दा पुरानो र मोटो भएको बताउँछन् । नेपालका अन्य जंगलमा अहिलेसम्म भीम सखुवाजत्रो साइजको रुख नभेटिएको पूर्व महानिर्देशक खड्काले जनाए । खड्का २०६९ देखि ०७१ सम्म जिल्ला वन अधिकृत भएर २ बारामा बसेका थिए ।





