बाराका पत्रकार इन्दिप कोइरालाविरुद्ध साइबर अपराधमा जाहेरी दर्ता

बारा । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सामाजिक सञ्जालमा आफू विरुद्ध जथाभाबी लेख्ने, सेयर, कमेन्ट र लाईक गर्ने विरुद्ध साइवर अपराधमा मुद्दा दर्ता गरेका छन् ।
उपमहानगरका पूर्व नगरप्रमुख डा.कृष्ण पौडेलको निधनलाई लिएर निजगढ नगरपालिका वडा नं ८ निवासी इन्दिप कोइरालाले पौडेलको निधनको पछाडि हालका नगरप्रमुख राजन पौडेल र सिङ्गो माओवादी केन्द्र यसको जिम्मेवार हो भन्दै सामाजिक सञ्जालमा स्टाट्स लेखेका थिए ।
‘पूर्व मेयर पौडेलको निधन होइन हत्या हो, राजनीतिक हत्या हो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यसको प्रमुख जिम्मेवार हो, अहिलेका मेयर यसका योजनाकार हुन्’ सामाजिक सञ्जालमा कोइरालाले लेखेको पोस्टमा उल्लेख छ, ‘तपाई नगरप्रमुख हुनु नै तपाईँको गलत निर्णय थियो, तपाईँलाई यहाँसम्म पुर्याउने दलाल नेता, फटाहा चोर पत्रकार र विरोधी सबैलाई पाप लाग्छ, यी सबैले रुनुपर्छ ।’
सो स्टाट्स लेख्ने कोइरालासहित सेयर गर्ने झन्डै आधा दर्जन व्यक्ति विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका छन् । नगरप्रमुख पौडेलले दिएको जाहेरीमा ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ । जीतपुर सिमराका पूर्व नगरप्रमुख पौडेल बिहीबार साँझ घरमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा पौडेलको मृत्यु उच्च रक्तचापका कारण भएको परिवारजनले बताएका छन् ।
नगरप्रमुख राजन पौडेलले पूर्व नगरप्रमुख स्व.पौडेल र उनको परिवारसँग आफ्नो सम्बन्ध अत्यन्तै सौहार्दपूर्ण र सम्मानजनक भएको बताएका छन् । ‘हामी फरक पार्टीको भए पनि व्यक्तिगत सम्बन्ध असाध्यै राम्रो थियो, उपमहानगरका धेरै विषयमा मैले उहाँको सरसल्लाह लिएर अगाडि बढ्थे’ नगरप्रमुख पौडेलले भने, ‘पूर्व नगरप्रमुखको मृत्यु भएको केही घण्टामै अराजक शैलीमा गम्भीर आरोप लगाएर पत्रकारको फेसबुक पेजबाट यस्तो स्ट्याटस आएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएरै मैले सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने, लाईक र कमेन्ट गर्नेहरू सबै विरुद्ध जाहेरी दिएको हुँ’
माओवादी केन्द्र जिल्ला कार्यसमिति बाराले पनि विज्ञप्ति जारी गरेर कोइरालाको कार्यशैलीको घोर भर्त्सना गरेको छ ।
‘पूर्व नगरप्रमुख कृष्ण पौडेलको निधनमा हालका नगरप्रमुख योजनाकार भन्दै व्यक्तिगत चरित्रहत्या गर्ने ढङ्गले गम्भीर दोष लगाउनु एकदमै गैह्र जिम्मेवार र निन्दनीय कार्य हो’ माओवादी केन्द्र जिल्ला कार्यसमिति बाराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘स्ट्याटसमा नेतालाई दलाल र पत्रकारलाई चोर भनी उल्लेख गर्नुले कोइरालाको धरातल स्पष्ट हुन्छ’ कोइराला पेसाले विगतमा पत्रकार थिए ।
उनी विगतमा एभिन्युज टेलिभिजनका काम गर्थे । माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा कोइरालाको कार्यशैलीलाई लिएर पत्रकार महासङ्घ बाराको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्ने जनाएको छ ।
सो स्ट्याटस सेयर गर्नेहरूमा केही व्यक्ति विदेशमा रहेका छन् । नगरप्रमुख पौडेलले दिएको साइबर अपराधको उजुरीमा जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार कोइरालाको खोजी सुरु गरेको छ । बाराका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले नगरप्रमुख पौडेलले दिएको उजुरीमा कारबाही प्रक्रिया अगाडि बढेको बताएका छन् । कोइरालाको स्ट्याटस १० जनाले सेयर गरेका छन् । स्टाटस सेयर गर्ने १० जनाबिरुद्ध पनी जाहेरीमा कारवाहीको माग गरिएको छ । ratopati.com






