धम्क्याएर ७ करोड माग्ने पत्रकारसहित ७ जना पक्राउ

काठमाडौं। धाक-धम्की दिएर एक जना व्यापारीलाई ७ करोड रकम माग गर्ने ७ जनाको समूहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उनीहरूले योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा भेटेर डर, धम्की तथा त्रास देखाएर ७ करोड माग गरेको सूचनाको आधारमा महानगरीय अपराधन अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा-१० घर भई काठमाडौं गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, कालीकोट सान्नीत्रिवेणी-८ घर घई बूढानीलकण्ठ बस्ने २९ वर्षीय २९ वर्षीय टेक वि.क., बझाङ खप्तडछान्ना-७ घर भई कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा, काभ्रेपलाञ्चोक तेमाल-२ घर भई काँडाघारी बस्ने ३३ वर्षीय उमेश भण्डारी, गुल्मी धुरकोट-२ घर भई रातोपुल बस्ने २९ वर्षीया बसन्ता खनाल, चितवन भरतपुर-११ घर भई सिनामंगल बस्ने ३२ वर्षीय सुरज शर्मा र सिनामंगल बस्ने ३३ वर्षीय श्रवण कार्की छन्।
उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेकाहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको कोइरालाले बताए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले व्यापारीको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको खुलेको जानकारी दिए। उनले पक्राउ परेकामध्ये केही पत्रकारसमेत रहेको बताए। कुँवरले कुन पत्रकार हुन् भनेर खुलाएनन्।





