तालिमको नाममा प्रसौनी गाउँपालिकामा ४० लाख घोटाला

अकबर हवारी
वीरगंज। बाराको प्रसौनी गाउँपालिकामा सार्वजनिक रकमको दुरुपयोग र अनियमितता भएको तथ्य बाहिर आएको छ। आर्थिक वर्ष २०७९/८० मा सचेतना र तालिम कार्यक्रमको नाममा मात्र ४० लाख १९ हजार रुपैयाँभन्दा बढी खर्च देखाइएर अनियमितता भएको स्थानीयवासीको आरोप छ।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, योजना प्रमुख र लेखा प्रमुख प्रेमबाबु प्रसादको मिलेमतोमा खरिद ऐन विपरीत विभिन्न फर्म तथा संस्थाबाट तालिम सञ्चालनका नाममा सोझै खरिद गरिएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले पनि पुष्टि गरेको छ।
खरिद ऐन विपरीत तालिममै खर्च
सार्वजनिक खरिद नियमावलीअनुसार १ लाखभन्दा बढीको खरिद गर्दा लागत अनुमान तयार गरी स्वीकृत गर्नुपर्ने व्यवस्था छ। तर प्रसौनी गाउँपालिकाले लागत अनुमान नै नबनाई प्रत्यक्ष खरिद गर्ने प्रक्रिया अवलम्बन गरेको भेटिएको छ।
समृद्ध मेधश परामर्श तथा तालिम केन्द्र प्रा.लि., शिक्षित प्रदेश परामर्श तथा तालिम केन्द्र, ग्रामिण विकास अभियान केन्द्र, राष्ट्रिय जनचेतना विकास केन्द्र, सक्सेस स्किल डेभलप्मेन्ट फर्म, तराई डेभलप्मेन्ट फाउन्डेशन, मानव तथा वातावरण विकास नेपाललगायत संस्थाहरूमार्फत पटक–पटक लाखौं रुपैयाँ भुक्तानी गरिएको देखिन्छ।
उपलब्धीभन्दा बढी खर्च
स्थानीयवासीको भनाइअनुसार तालिम सञ्चालनका नाममा देखाइएको खर्च न उपलब्धीमा झल्किन्छ, नै वास्तविक प्रभावमा। खरिद नियम विपरीत खर्चिएको रकमलाई महालेखाले बेरुजू समेत कायम गरेको छ।
स्थानीयको आरोप
गाउँपालिकामा लामो समयदेखि कार्यरत लेखा प्रमुख प्रेमबाबु प्रसादले आफ्नै आसेपासे संस्थाहरूसँग सेटिङ्ग गरेर कागजी तालिम सञ्चालन गरी भ्रष्टाचार गरेको स्थानीयको आरोप छ। श्रम बजारको सर्वेक्षण नगरी तालिम प्रदायक संस्थाले रोजेको स्थानमै तालिम देखाइएको र सबै प्रक्रिया ऐन–नियम विपरीत गरिएको तथ्यसमेत बाहिर आएको छ।
यसरी आवश्यकता बिनै, कार्यक्षेत्रगत शर्त नपुर्याई र कानूनी प्रक्रिया पन्छाएर ४० लाख रुपैयाँभन्दा बढी रकम तालिम कार्यक्रममार्फत खर्च देखाइएकोमा स्थानीयले कमिसनको लोभमा गरिएको भ्रष्टाचार भएको दाबी गरेका छन्।