नेपाली कांग्रेस क्षेत्र नं १ का उमेदवार अनिल रुङटा भन्छन्: विकास र रोजगारी मेरो पहिलो प्राथमिकता

पर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको पक्षमा समर्थन लहर तीव्र बन्दै गएको छ। बुधबार वीरगञ्ज महानगरपालिका–१५ भिष्वामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूले सार्वजनिक रूपमा रुङटालाई समर्थन जनाएका छन्।

मतदातासँगको भेटका क्रममा स्थानीय बासिन्दाहरूले रुङटाप्रति आशा व्यक्त गर्दै “हजुर नै हाम्रो अन्तिम आशा हुनुहुन्छ” भन्ने प्रतिक्रिया दिएका थिए। केही स्थानीयले अघिल्ला निर्वाचित प्रतिनिधिप्रति असन्तुष्टि व्यक्त गर्दै यसपटक परिवर्तनको आवश्यकता औँल्याएका छन्। उनीहरूले विगतमा दुई पटक निर्वाचन जिताएर मन्त्री बनाएका नेता प्रदीप यादवले सहिद परिवारको अपमान गरेको आरोप लगाउँदै यसपटक जनताले कडा जवाफ दिने बताएका छन्।

भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रुङटाले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारे। उनले विशेषगरी युवापुस्ताले अवसर नपाएको अवस्था, वैदेशिक रोजगारीको बाध्यता तथा सीपमूलक तालिमको अभावलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

रुङटाले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै समावेशी विकास, पारदर्शी नेतृत्व र क्षेत्रको समग्र उन्नतिका लागि स्पष्ट योजना प्रस्तुत गरेका थिए। जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर जिम्मेवार तथा परिणाममुखी नेतृत्व प्रदान गर्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा ‘रुख’ चुनाव चिन्हमा मतदान गरी अनिल रुङटालाई विजयी बनाउन एकजुट हुनुपर्ने धारणा राखेका थिए। घरदैलो अभियानका क्रममा देखिएको जनउत्साह, सक्रिय सहभागिता र आपसी विश्वासले पर्सा क्षेत्र नं. १ मा कांग्रेसको स्थिति थप मजबुत बन्दै गएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ, तरुण दलका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close