प्रदेशसभा अधिवेशन आजदेखि, प्रतिपक्षले अवरोध गर्ने संकेत

जनकपुर । मधेश प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । मधेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार भोलिको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । सचिवालयले बैठकका विषयमा प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइसकेको जनाएको छ ।

तर अधिवेशन सुरु हुनुअघि नै प्रमुख प्रतिपक्षी दलसहित अन्य दलहरूले सदनमा अवरोधलाई निरन्तरता दिने चेतावनी दिएका छन्। सरकारले आफ्नो माग सम्बोधन नगरी अर्थमन्त्रीमार्फत बजेट प्रस्तुत गरेको भन्दै प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

यसैबीच सभामुख रामचन्द्र मण्डलले सहमति खोज्ने उद्देश्यले बिहीबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन विभिन्न दलका तर्फबाट शुभकामना मन्तव्य दिने कार्यक्रम, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, साथै विषयगत समितिका प्रतिवेदनहरू सभामा पेश गर्ने कार्यसूची रहेको छ।

मधेश प्रदेशसभा गठन भएदेखि पहिलो पटक महालेखापरीक्षकको वार्षिक प्रतिवेदन यस अधिवेशनमा प्रस्तुत हुँदैछ। यसलाई प्रदेशको उत्तरदायित्व र वित्तीय पारदर्शिताको दृष्टिले महत्वपूर्ण मानिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close