उम्मेदवार र राजनीतिक दलका कारण बढी मत बदर

वीरगञ्ज । जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्‍जिता झाले उम्मेदवार र राजनीतिक दलकै कारण मत बढी बदर हुन पुगेको बताएकी छिन् ।

उम्मेदवारी दिने समयसम्म पनि उम्मेदवारलाई आफू कुन पार्टी/स्वतन्त्रबाट उम्मेदवार बन्ने हो भन्ने नै जानकारी नहुनु र राजनीतिक दलले पनि पहिल्यै उम्मेदवार टुंगो लगाउन नसक्दा मत बदर बढी हुन पुगेको उनको भनाई थियो ।

वीरगञ्जमा शनिबार आयाेजित मतदाता नमावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चितताका लागि जिल्लास्थित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा झाले यस्तो बताएकी हुन् ।

‘उम्मेदवारी दिने समयसम्म कुन चिन्ह लिएर उम्मेदवार बन्ने भन्ने विषयमा उम्मेदवार नै अनबिज्ञ देखिए, चुनाव चिन्ह यकिन भइसकेपछि पनि त्यसबारे मतदातालाई बुझाउनै सकेनन्,’ प्रमुख झाले भनिन्, ‘त्यसले गर्दा मत हाल्ने क्रममा मतदाता झुक्किन पुगे, अनि मत बदर हुन पुग्यो ।’

यस पटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा केही असर गरेको भएपनि मुख्य गरेर राजनीतिक दल र उम्मेदवारको समयमा यकिन नहुँदा बढी मत बदर भएको निर्वाचन कार्यालय पर्साकी प्रमुख झाको तर्क थियो ।

अहिले मतदाता नामावली संकलन गर्ने काम भइरहेको भन्दै उनले त्यसका लागि स्थानीय तहले आफ्नो ठाउँका नागरिकलाई सूचना दिएर मतदाता संकलनमा सहयोग गर्न आग्रह पनि गरिन् ।

निर्वाचन कार्यालयका साथै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सुपौली गरी ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेकाले यसअघि नाम चढाउन छुटेका मतदाताले समयमै नाम दर्ता गरेर मताधिकार प्रयोग गर्न आग्रह गरेकी हुन् ।

कार्यक्रममा सरोकारवालाहरुले मतदाता नामावली जिल्लाको तीन स्थानबाट मात्रै संकलन गर्नु उपयुक्त नभएको भन्दै छुटेका मतदातालाई समेट्न वडा/वडामै घुम्ति टोली पठाउनु जरुरी रहेको बताए ।

‘गाउँपालिकाको केन्द्रमा पठाउँदा पनि अझै धेरै नागरिक मताधिकारबाट बन्चित छन्,’ पत्रकार मनोज पटेलले भने, ‘वडातहमै घुम्ति टोली पठाउन सकिए मात्रै सबैलाई समेट्न सकिएला होइन भने त अझै मताधिकारबाट वञ्चित हुने सख्या ठूलै रहिरन्छ ।’

कार्यक्रममा सञ्चारकर्मी बृजलाल पासवान, मनोज पटेल, शम्भु सुमन, निर्वाचित प्रतिनिधि संगिता दास लगायतले मतदाता नामावली संकलनलाई सहज बनाउन आग्रह गरेका थिए । कार्यक्रम दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको सभापतित्वमा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close