नेपाल कांग्रेस पर्सा क्षेत्र नं १ का उम्मेदवार रुङ्टा उठे मैदानमा: झुठा वाचा गर्ने नेतामाथि कठोर प्रश्न

पर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको पक्षमा समर्थन लहर तीव्र बन्दै गएको छ। बुधबार वीरगञ्ज महानगरपालिका–३२ टेडामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूले सार्वजनिक रूपमा रुङटालाई समर्थन जनाएका छन्।

मतदातासँगको भेटका क्रममा स्थानीय बासिन्दाहरूले रुङटाप्रति आशा व्यक्त गर्दै अब क्षेत्रले इमानदार, जवाफदेही र जनतासँग सधैं सम्पर्कमा रहने नेतृत्व चाहेको बताएका थिए। विगतमा गरिएका वाचा पूरा नभएकाले जनतामा निराशा बढेको उल्लेख गर्दै उनीहरूले यसपटक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई समर्थन गर्ने धारणा राखेका थिए।

भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रुङटाले वर्तमान राजनीतिक अवस्थाबारे कडा टिप्पणी गरे। उनले पूर्व सांसदले राजनीतिलाई जनसेवाको माध्यम बनाउनुको सट्टा आफ्नै स्वार्थ पूर्तिका लागि प्रयोग गरेको आरोप लगाए। उनका अनुसार हरेक चुनावमा आकर्षक र झुठा नारा दिइए पनि व्यवहारमा ठोस काम हुन सकेको छैन। चुनावपछि जनतासँग गरिएका प्रतिबद्धता बिर्सिने प्रवृत्ति देखिएको उनले बताए। साथै, समाजमा शान्ति र भाइचारा कायम गर्नुको सट्टा विभाजन सिर्जना गर्ने गतिविधि बढेको दाबी समेत उनले गरे।

रुङटाले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै समावेशी विकास, पारदर्शी नेतृत्व र क्षेत्रको समग्र उन्नतिका लागि स्पष्ट योजना प्रस्तुत गरेका थिए। जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर जिम्मेवार तथा परिणाममुखी नेतृत्व प्रदान गर्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा रुख चुनाव चिन्हमा मतदान गरी अनिल रुङटालाई विजयी बनाउन एकजुट हुनुपर्ने धारणा राखेका थिए। घरदैलो अभियानका क्रममा देखिएको जनउत्साह, सक्रिय सहभागिता र आपसी विश्वासले पर्सा क्षेत्र नं. १ मा कांग्रेसको स्थिति थप मजबुत बन्दै गएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, नेपाल महिला संघ पर्साकी किरण शर्मा,हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ, तरुण दलका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close