एन्फा एकेडेमीमा पाँच महिनादेखि फुटबल सिक्दै थिए निजगढका बिकल

पहिरोले बगाएका ६ जनाको शव फेला परेको छ। उनीहरूको शव काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ। पहिरोमा परी ज्यान गुमाउनेमा निजगढका बिकलसहित सर्लाहीका आदित्य बलपाकी, मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बानियाँ र काठमाडौंका रियान्स आचार्य रहेका छन्।
एन्फा प्रवक्ता सुरेश शाहले सिस्नेरी एकेडेमीमा रहेका ६ खेलाडी पहिरोमा परेको पुष्टि गरेका छन्। इन्द्रसरोवर गाउँपालिका-४, स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा उनीहरूलाई पहिरोले बगाएको थियो।
सुरक्षित स्थानमा लगिएका ३० प्रशिक्षार्थीलाई भने काठमाडौं लगिएको छ। उद्धार गरिएका ३४ मध्ये ३० जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो।
यु–१३ उमेर समूहमा बिकलसहित निजगढका पाँच प्रशिक्षार्थीले सिस्नेरीस्थित एन्फा एकेडेमीमा फुटबल प्रशिक्षण गरिरहेका थिए। अन्य चार जना भने सुरक्षित छन्। उनीहरू गत जेठदेखि सिस्नेरीमा थिए।
निजगढ नगरपालिका-८ बकैया टोलका जयन्त रेग्मीका छोरा बिकल फुटबल खेल्न औधी रुचाउथे। फुटबलमा भएको रुचिकै कारण उनले निजगढबाट एकेडेमीसम्मको यात्रा तय गरेका थिए। जिल्ला र प्रदेशको छनौट पार गर्दै एकेडेमीमा पुग्न सफल बिकल फुटबलमा आफ्नो भविष्य बनाउन चाहन्थे।






