राजेन्द्र महतोले आफ्नै गठबन्धनका उम्मेदवारविरूद्ध मनोनयन दर्ता गराउने

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो आफ्नै दलको गठबन्धनका उम्मेदवार विरूद्ध मनोनयन दर्ता गराउने भएका छन्।
सत्तारुढ गठबन्धनमा भागबण्डामा सहमति नजुटेपछि मित्रवत प्रतिष्पर्धा गर्ने भन्दै महतो नेपाल समाजवादी पार्टी (नेसपा) नेता महिन्द्र राय यादव विरूद्ध उम्मेदवारी दिन लागेका हुन्।
राय नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्दैछन् भने महतो पार्टीकै चुनाव चिन्हबाट उठ्न लागेका हुन्। राय २०७४ सालको निर्वाचनमा यहीँ बाट प्रतिनिधिसभामा विजयी भएका थिए।
महतो भने त्यतिबेला धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए। पार्टी टुटफुटसँगै अघिल्लो चुनावमा सघाएका जुली महतो आफैं उम्मेदवार बन्दा धनुषामा असुरक्षित देखेपछि महतो यसपालि सर्लाहीबाट चुनाव लड्दै छन्।
धनुषा ३ बाट सत्तारूढ गठबन्धनले लोसपा नेता अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।






