पर्सा १ मा लोसपाका कर्णलाई टिकट, कांग्रेस संस्थापन इतर पक्ष असन्तुष्ट

वीरगञ्ज । नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्ण चुनाव लड्ने भएका छन् । पर्सा क्षेत्र नं. ४ का निवर्तमान सांसद कर्ण गठबन्धनबाट पर्सा क्षेत्र नं १ मा चुनाव लड्न लागेका हुन् ।

कर्ण तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट पर्सा क्षेत्र नं ४ मा निर्वाचित भएका थिए । उनी २० हजार ७३८ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका नेता रमेश रिजालले १४ हजार ७०२ मत पाएर दोस्रो स्थानमा खुम्चिएका थिए ।

पार्टी सभापति एवं प्रधानमन्त्री देउवासँग निकट सम्बन्ध भएकोले रिजालले गठबन्धनबाट टिकट हात पार्न सफल भएको शेखर कोइराला पक्षको आरोप छ ।

रिजालले आफ्नो क्षेत्र नछोड्ने भएपछि गठबन्धनले पर्सा क्षेत्र नं. १ बाट उम्मेदवारका आकांक्षी रहेका शेखर कोइराला पक्षका अजय द्विवेदीको टिकट खोसेर लोसपालाई सुम्पिएको संस्थापन इतरको आरोप छ । द्विवेदी कांग्रेस पर्साका पूर्वसभापति हुन् ।

०७४ मा वीरगञ्ज महानगरपालिकाको मेयरमा लडेका अजय द्विवेदी तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार विजय कुमार सरावगीसँग पराजित भएका थिए । सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा उनले १७ हजार १९७ मत ल्याएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरमा उम्मदवारी दिन इच्छा राख्दै आए पनि गठबन्धन हुँदा उक्त पद जसपाले पाएको थियो ।

संघ तथा प्रदेशको निर्वाचनमा उनी जसरी पनि निर्वाचनमा होमिने मनस्थितिमा देखिन्थे । उनी नेकपा एमालेमा गएरै भएपनि चुनाव लड्ने चर्चा चलिरहेको थियो ।

टिकटका लागि काठमाडौं पुगेका द्विवेदी वीरगञ्ज फर्केलगत्तै स्वतन्त्र उम्मेदवारी दिनेगरी तयारी सुरु गरेका छन् ।

नेपाली काँग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री भने गठबन्धनबाट निर्णय भइसकेकोले पार्टीका कुनैपनि नेता कार्यकर्ताले त्यसलाई पालना गर्नुको विकल्प नभएको बताउँछन् ।सभारः अनलाईन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close