मुस्लिम समाज, पर्साको प्रेस स्वतन्त्रा माथिको आक्रमणलाई गम्भीर ध्यान आक्रषण भएकोछ ।
प्रमुख जिल्ला अधिकारी, मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरलाई ज्ञापन पत्र ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताले धेरै बलिदान गर्दै आएका छन् । यो मुलुकमा विधिको शासन, कानुनी राज्यको प्रत्याभूति र नागरिक अधिकारको रक्षा गर्न नेपाली जनताले पटक–पटक संघर्ष गरेका छन्। लोकतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा नेपाली मुस्लिम समुदायले पनि उल्लेखनीय योगदान दिएको इतिहास साक्षी छ। तर, हालै २०८१ चैत्र १५ गते पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरूले मुलुकमा अशान्ति मच्चाउने नियतले गरेको हिंसात्मक गतिविधिले नेपाली जनताको बलिदानमाथि नै ठाडो प्रहार गरेको छ।
शान्तिपूर्ण समाज निर्माणको अवधारणालाई उल्लंघन गर्दै सञ्चारकर्मी सुरेश रजकलाई जिउँदै जलाएर हत्या गरिनु अति नै निन्दनीय र अमानवीय कार्य हो । यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गराएको छ। साथै, सर्वसाधारण नागरिकमाथि हिंसात्मक आक्रमण गरिनु, सुरक्षाकर्मीहरूलाई लक्षित गरी आक्रमण हुनु, सञ्चारमाध्यमहरूमाथि आक्रमण गरी क्षति पुर्याइनु जस्ता घटनाहरूले लोकतन्त्रको जग हल्लाएको छ। कान्तिपुर, अन्नपूर्ण पोस्ट, अनलाइन खबर लगायतका सञ्चारमाध्यमहरूमा गरिएको आक्रमणले प्रेस स्वतन्त्रतामाथि गम्भीर चुनौती खडा गरेको छ। स्वतन्त्र प्रेस कुनै पनि लोकतान्त्रिक मुलुकको आधारभूत स्तम्भ हो र त्यसलाई कमजोर बनाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।
पूर्वराजा ज्ञानेन्द्र शाहले सामन्ती निरंकुश शासन पुनःस्थापना गर्ने उद्देश्यले हिंसात्मक गतिविधि गराउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको प्रष्ट देखिन्छ। उनले लोकतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्र गर्दै मुलुकलाई पुनः अन्धकार युगमा फर्काउन खोज्नु नेपाली जनताको कदापी मान्य हुने छैन । यस किसिमको विध्वंसात्मक कार्यले मुलुकको शान्ति, स्थायित्व र नागरिक स्वतन्त्रतामाथि गम्भीर खतराको संकेत गरेको छ। नेपाली जनताले ठूला त्याग र बलिदानबाट प्राप्त गरेको लोकतान्त्रिक व्यवस्थालाई पुनः कमजोर बनाउन खोज्ने यस्ता हिंसात्मक गतिविधिहरू सह्य हुन सक्दैनन्। लोकतन्त्र, कानुनी शासन र नागरिक स्वतन्त्रताको रक्षा गर्न राज्यले प्रभावकारी कदम चाल्नैपर्छ।
मुस्लिम समाज, पर्साले प्रेस स्वतन्त्रा माथिको आक्रमणलाई गम्भीर ध्यान आक्रषण भएकोछ । यस घटनामा संलग्न सम्पूर्ण दोषीहरूलाई कडा कानुनी कारबाही गरिनुपर्छ। सञ्चारकर्मीहरूलाई सुरक्षाको प्रत्याभूति दिँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्छ। हिंसात्मक गतिविधिमा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाह, दुर्गा प्रसाईं लगायतका व्यक्तिहरूलाई कानुनी कठघरामा उभ्याइ कानुनी प्रक्रिया अघि बढाइनुपर्छ। सञ्चारमाध्यमहरूलाई पुर्याइएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराई भविष्यमा यस्ता आक्रमण दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्छ। लोकतान्त्रिक मूल्य र मान्यतासँग सम्झौता गर्न नपरोस् भन्ने कुरामा सरकार गम्भीर रहनुपर्छ।
त्यसतै सिरहाको पत्रकार मुुकेश यादवलाई आफनो काम सकाएर घर जाने क्रममा राती ७ बजेको समयमा ४÷५ जनाको समुह बनाएर आएका समुहले संघातीक आक्रमण गरिएकोप्रति हाम्रो गम्भीर ध्यान आक्रषण भएको छ । प्रेस स्वतन्त्रा माथि दिन प्रति दिन पत्रकारमाथि यसरी बारम्बार भईरहेको आक्रमण बिज्ञप्तीमा थप उल्लेखित गरिएको छ ।
नेपाल सरकारलाई अविलम्ब आवश्यक कानुनी कारबाहीको पहल गर्न हामी यस ज्ञापनपत्रमार्फत आग्रह गर्दछौं। अन्यथा, यदि यो घटनामा संलग्न दोषीहरूलाई उन्मुक्ति दिइयो भने नेपाली मुस्लिम समुदाय तथा लोकतन्त्रप्रेमी सम्पूर्ण नागरिकहरू अझ सशक्त संघर्षका लागि बाध्य हुनेछन्। लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि हामी कुनै पनि परिस्थितिमा पछि हट्ने छैनौं।
यसका लागी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मुस्लिम समाज, पर्साको संयोजक जफर अंसारी, हाजी फैयाज अहमद, इन्जि. नुरुल होदा, ताजुदिन अंसारी, आश महमद मियाँ, नुर आलम, रेयाज अहमद, महमुद आलम, लगायतका मुस्लिम समाजका अगुवाहरु बुद्धिजिबीहरुको सहभागितामा ज्ञापन पत्र बुझाईएको थियो ।