वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर

पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ । निर्माणको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो । “निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, दाहालले भने । निर्माणाधीन संरचनाको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।
भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिनमा राख्न उक्त क्षेत्रमा करिब रु २८ करोडको लागतमा भवन निर्माण गरिएको हो । निर्माण गरिएका पूर्वाधारमा १३ भान्साघर, २२ शौचालय र एक हजार व्यक्ति अटाउने २२ क्वारेन्टिन भवन रहेका छन् । नौ सय श्ययामा सामान्य लक्षण तथा एक सय श्ययामा जटिल अवस्थाका बिरामीलाई राखिने दाहालले बताए ।