सिम्रौनगढ प्रहरीद्वारा हतियार सहित २ जना पक्राउ

वीरगञ्ज । बाराको सिम्रौनगढबाट प्रहरीले हतियार सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नं. १ नम्सगराढाठ बस्ने अन्दाजी बर्ष २९ को अनिल मुखिया र सोहि स्थान बस्ने अन्दाजी बर्ष २५ को गुड्डु भन्ने धिरज मुखिया रहेको सिम्रौनगढ प्रहरीले जनाएको छ ।

नम्सगराढाठ पोखरीको डिलमा अनिल मुखिया र धिरज मुखियाले स्थानीय मानिसहरुलाई हतियार देखाई डर, त्रास, धाकधम्की दिइरहेको भन्ने विशेष सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरिक्षक देवराज काफ्लेको कमाण्डमा १० जनाको टोली खटि हतियारधारी दुबै जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
हतियारधारी अनिल र धिरजलाई घेरा हाली नियन्त्रणमा लिएको र कटुवा पेस्तोल १ थान मात्र उनीहरुको साथबाट फेला परेको हुँदा उनीहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा राखी हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडि बढाइएको प्र.नि काफ्लेले बताउनुभयो ।






