बाराकाे पौडेल हत्या आरोपमा १२ जना जेल चलान

बारा। जितपुरसिमरा उपमहानगरपालिका–६ नगौल टोलका राकेश भक्त पौडेलको हत्यामा संलग्न रहेका एक नाबालिकासहित १२ जनालाई अदालतको आदेशमा कारवाही प्रक्रिया  अगाडि बढाएको छ ।

बारा जिल्ला अदालतको आदेशमा पौडेल हत्या अभियोगको आरोपमा ११ जनालाई वीरगंज कारागार तथा नाबालिकालाई बाल सुधार केन्द्र भक्तपुरमा पठाइएको बारा प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय सन्दीप थापा, ५० वर्षीय चित्रबहादुर क्षेत्री, २४ वर्षीय सुजन भन्ने सुमन लामा, २६ वर्षीय राजु अधिकारी, ५० वर्षीया दुर्गादेवी खत्री र ५० वर्षीय  संते बछार, २६ वर्षीय सुदिप घिमिरे छन् ।

यसैगरी साविक गाविस डुमरवाना–८ हाल जितपुरसिमरा उपमहानगरपालिका–२ फुलबारी टोलका ४२ वर्षीय केबी रिजाल भनिने खगेन्द्र रिजाल, साविक पिप्रासिमरा–५ हाल जितपुरसिमरा उपमहानगरपालिका–२ सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, सोही ठाउँ वडा नम्बर–३ बजनी बलुवा टोलका ४८ वर्षीय अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, ३४ वर्षीय मसिने मगर भन्ने कुमार मगर, २६ वर्षीय सन्तोष खत्री रहेका छन् ।

यसैगरी, एक जना नाबालिकाको परिचय भने परिवर्तित गरिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

वैशाख ३० गते विहान साढे ३ बजे नगौल टोल बस्ने चित्रबहादुर क्षेत्रीको घरमा बसेर खाजा खाइरहेका १२ जनाले पौडेललाई बोलाएर कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका पौडेलको अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो । घटना पश्चात् अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न भएका नाबालिकासहित १२ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशानुसार पुर्पक्षका लागि ११ जनालाई वीरगञ्ज कारागार पठाइएको तथा नाबालिकालाई बाल सुधारगृह केन्द्र भक्तपुर पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close