कलैयाको विजलपुरमा ई.साहको घरदैलो, जनताका आवश्यकता बुझेर काम गर्ने प्रतिबद्धता

वीरगञ्ज । बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आज कलैया उपमहानगरपालिका वडा नम्बर २७ विजलपुरमा घरदैलो गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साहले घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी प्राथमिकता स्पष्ट पारे । उनले निर्वाचित सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण मात्र नभई निर्वाचन क्षेत्रका जनताको दैनिक समस्या, आधारभूत पूर्वाधार, सेवा–सुविधा र अवसरसँग प्रत्यक्ष जोडिएको हुने बताएका छन् ।

यस क्षेत्रका मतदातासँग भेटघाट गर्दै उनले भने, “सांसद जनता र राज्यबिचको जीवित पुल हो । त्यो पुल मजबुत बनाउन जनताको वास्तविक आवश्यकता बुझेर काम गर्नुपर्छ ।” उनका अनुसार राजनीति पद प्राप्त गर्ने माध्यम नभई जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया हो ।

साहले स्थानीय स्तरमा सडक, सिचाइ, शिक्षा, स्वास्थ्य सेवा र रोजगारीका अवसर विस्तारका लागि सङ्घीय बजेट र नीतिगत पहल आवश्यक रहेको बताए । जनताको भरोसालाई आफ्नो सबैभन्दा ठूलो पुँजी मान्दै उनले राष्ट्रिय हित र स्थानीय आवश्यकताबिच सन्तुलन मिलाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलोका क्रममा उनले मतदातासँग घण्टी छापमा मतदान गर्न आग्रह गर्दै जनताको विश्वासलाई परिणाममुखी काममार्फत स्थापित गर्ने धारणा राखे । विजलपुरका स्थानीयवासीले पनि प्रत्यक्ष संवादमार्फत प्राथमिकता सार्वजनिक गरेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close