नेपाल मुस्लिम पत्रकार संघद्वारा पर्सा प्रहरीका नयाँ प्रमुख एसपी गौताम मिश्रलाई स्वागत तथा समसामयिक विषयमा छलफल

वीरगंज । नेपाल मुस्लिम पत्रकार संघ पर्साका कार्यसमितिका सदस्यहरूले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसँग भेटघाट गरेका छन्।
संघका अध्यक्ष मन्सुर खानका अनुसार, पर्सामा हालै आएका एसपी मिश्रलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
अठार वर्ष अगाडि इन्स्पेक्टर बनेर वीरगञ्जमा गरेको काम सम्झिँदै पर्सा प्रहरीका नयाँ प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले भने, “पर्सामा आउन सक्ने प्रत्येक चुनौतीको सामना गर्दै शान्ति सुरक्षा स्थापना गर्छु”
एसपी मिश्रले पर्सामा आफ्नो कार्यकालको पहिलो महिनामै तस्करी नियन्त्रण, लागू औषध बरामद, गाँजा खेती फडानी, फरार प्रतिवादी पक्राउ लगायतका अभियान सञ्चालन गर्दै शान्ति सुरक्षालाई मजबुत बनाउन सक्रिय रहेको बताए।
नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर खानको नेतृत्वमा उपस्थित सदस्यहरूले एसपी मिश्रको पहलको सराहना गर्दै पर्सावासीको सुरक्षाका लागि पूर्ण विश्वास व्यक्त गरे।
संघका अध्यक्ष खानले प्रहरी प्रशासनलाई जनताको प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्न, निर्दोषलाई न्याय दिन र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे। साथै, यदि पीडितहरूले न्याय नपाएमा संघले प्रतिवाद गर्ने चेतावनी पनि दिए।
एसपी मिश्रले पर्सावासीसँग प्रत्यक्ष रूपमा सम्बन्ध स्थापित गर्दै उनीहरूका समस्याहरू सुन्ने र न्याय दिने प्रतिबद्धता जनाए। साथै, बिचौलियामुक्त प्रहरी सेवा प्रदान गर्ने र तस्करी तथा लागू औषध नियन्त्रणलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन्। “शान्ति सुरक्षामा कुनै सम्झौता हुनेछैन,” उनले स्पष्ट रूपमा उल्लेख गरे।