स्थानीय तह निर्वाचन २०७९ : पाँच दल भर्सेस एमालेको सात दलीय ‘गठबन्धन’ !

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्ततः चुनावी मिति नजिकिँदै जाँदा गठबन्धन र तालमेललाई तीव्रता दिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच चुनावी तालमेल कसिलो बनाउने सहमतिपछि एमालेले पनि पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको हो ।

पछिल्लो अवस्था हेर्दा सङ्ख्याका हिसाबले एमालेको चुनावी गठबन्धन र तालमेल पाँच दलको भन्दा ठुलो हुने देखिएको छ । एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकालको परिवार दलसँग तालमेल गर्ने सहमति गरिसकेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लवको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीदेखि काँग्रेसको असन्तुष्ट (गोविन्दराज जोशी) समूहसँग चुनावी तालमेल गर्ने निश्चित जस्तै रहेको एमाले नेताहरूको भनाइ छ ।


कमल थापाको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलसँग त एमालेले केन्द्रीयस्तरमै सहमति गरेको सार्वजनिक भैसकेको छ । राप्रपा र परिवार दलले सूर्य चिह्नबाटै चुनाव लड्ने गरी सहमति गरेको एमालेले विप्लव समूहलाई पनि सूर्य चिन्ह दिएर तालमेल गर्ने तयारी छ । गत मंगलबारमात्रै एमाले ललितपुरले गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले विप्लव समूहलाई सूर्य चिह्नबाट चुनाव लड्न सार्वजनिक ‘अफर’ गरिसकेका छन् ।


‘तपाईंहरूका कार्यकर्ताहरूले जित्ने ठाउँमा उठाउनुस् । पार्टी तपाईंकै रहन्छ । कार्यकर्ता तपाईंकै रहन्छन्, तर सूर्य चिह्नबाट चुनाव लड्नुस् आरामसँग’, ओलीले विप्लव नेतृत्वको नेकपालाई थप भनेका थिए, ‘जित्ने तरिका त यो हो नि !’


यद्यपि एमालेले उनीहरूसँग कहाँ कहाँ चुनावी तालमेल गर्छ भन्ने प्रस्ट भैसकेको छैन । खासगरी साना दलहरूको राम्रो उपस्थिति रहेका स्थानीय तहमा एमालेले उनीहरूका उम्मेदवारलाई सघाउने छ भने कम उपस्थिति रहेका स्थानमा ती दलका नेता कार्यकर्ताले एमाले उम्मेदवारलाई सघाउने र चुनाव जित्ने रणनीति छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close