वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन बन्दै

काठमाडौँ / बारा र पर्सास्थित औद्योगिक करिडोर र उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेका छन् । बाराको अमलेखगन्ज तथा प्रसौनी र पर्साको वीरगन्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेका हुन् ।

सबस्टेसन र प्रसारण लाइन निर्माण सक्दो छिटो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएको छ । वीरगन्ज क्षेत्रको विद्युत् माग, आपूर्ति व्यवस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्त्वपूर्ण रहेको प्राधिकरणको भनाइ छ ।

पथलैया–सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिको समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगन्ज १३२/६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरण जडान भइसकेका छन् । अमलेखगन्ज सबस्टेसनलाई आगामी जेठ दोस्रो साता (मे २०२५) भित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका काम भइरहेका छन् । पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगन्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ ।

हेटौंडाबाट सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनका दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिएको छ । हेटौंडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो । ६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुने भएपछि अमलेखगन्ज सबस्टेसन सञ्चालनमा आए सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close