वीरगञ्जस्थित राधाकृष्ण सामुदायिक सिकाइ केन्द्रको १२ औं वार्षिक साधारण सभा सम्पन्न

आसमहमद मियाँ

वीरगञ्ज, पर्सा — राधाकृष्ण सामुदायिक सिकाइ केन्द्र, वीरगञ्ज–१५ को १२ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्ज–१५ स्थित राधाकृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसहित आयोजित सभामा आर्थिक वर्ष २०८१/८२ को समग्र प्रगति, आर्थिक विवरण, र भावी कार्ययोजना प्रस्तुत गरिएको थियो।

सभाको अध्यक्षता केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार यादवले गरेका थिए। प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश यादव रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथि आनन्द लामिछाने, प्रधानाध्यापक निरञ्जन न्यौपाने, उपाध्यक्ष शंकर श्रेष्ठ, कोषाध्यक्ष शेख नारायण साह, परिचालक सिता मैया कुमारी श्रेष्ठ, सदस्य सुरेश प्रसाद पटेल, रामकुमार श्रेष्ठ लगायत स्थानीय महिला–पुरुषको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष यादवले महिलालाई आत्मनिर्भर बनाउने सिपमूलक कार्यक्रमहरू अत्यन्त सराहनीय रहेको भन्दै नगरपालिकाबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाले सञ्चालन गरेका कार्यक्रमहरूले महिलाहरूलाई आर्थिक सशक्तीकरणतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्दै खुला समर्थन जनाए।

सभामा अध्यक्ष यादवले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै आगामी वर्षका लागि अनुमानित बजेट र कार्यक्रमहरूबारे जानकारी गराए। आगामी वर्षका लागि जनचेतनामूलक कार्यक्रम, घरधुरी सर्वेक्षण, बचत तथा ऋण समूहको क्षमता अभिवृद्धि, सीपमूलक तालिम (सिलाईकटाई, ब्युटिसियन आदि), खेलकुद सामग्री खरिद लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ।

कार्यक्रम सञ्चालन शुशिला भण्डारीले गरेकी थिइन् । समुदायमा सकारात्मक परिवर्तन र सशक्तिकरणको दृष्टिले केन्द्रले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close