मुख्यमन्त्री सिंहले भने – ‘गजेन्द्रनारायण अस्पतालको अवस्था दयनीय रहेछ’

  • मुख्यमन्त्रीले गरे मापदण्डविपरीत रहेकाे निमित्त मेसुकै क्लिनिक अनुगमन

काठमाडौँ — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराजस्थित संघीय सरकार मातहतको गजेन्द्रनारायण सिंह अस्पतालको सेवा प्रवाहको अवस्था दयनीय रहेको बताएका छन् । निजी अस्पतालहरुको अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले आइतबार दिउँसो गृह जिल्ला आएर अनुगमन गरेका थिए ।

अनुगमनमा आएका मुख्यमन्त्रीलाई सेवाग्राहीहरुले अस्पतालमा स्वास्थ्य सेवा पाउन नसकेको, व्यवस्थापन कमजोर रहेको, स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार पाउन नसकेका लगायतका गुनासो गरेका थिए । ‘साँच्चिकै गजेन्द्रनारायण अस्पतालको अवस्था अति नै दयनीय छ,’ अनुगमनपछि उनले भने, ‘न मेडिकल सुपरिटेन्डेन्ट छ, न त मेडिकल अफिसरहरु नै छ, अति दयनीय अबस्थाबाट यो अस्पताल गुज्रिरहेको पाएँ ।’

उनले अस्पतालको दुरावस्थाबारे जानकार भएपछि अनुगमनकै क्रममा रहेका बेला संघीय स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई फोन गरेका थिए । तर संघीय मन्त्री पौडेल बैठकमा व्यस्त रहेकाले कुराकानी हुन सकेन् । उनले स्वास्थ्यमन्त्रीसँग कुरा गरेर गजेन्द्रनारायण अस्पतालको अवस्था सुधारबारे प्रयास गर्ने बताए ।

अनुगमनकै क्रममा मुख्यमन्त्री सिंह गजेन्द्रनारायण अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीपकुमार साहको निजी क्लिनिक पनि पुगेका थिए । स्त्री तथा प्रसूति रोग विशेषज्ञ शाहको क्लिनिक मापदण्डविपरीत रहेकोले उनले तत्काल बन्द गर्न निर्देशन दिए । उनले राजविराजकै भारती इमरजिङ सेन्टर पनि मापदण्डविपरीत रहेकाले बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री नेतृत्वको अनुगमन टोलीले राजविराजस्थित अनार भुवनेश्वर अस्पताललाई मापदण्डमा आउन दुई महिनाको समय तोकिएको तथा सन्जनदिप हस्पीटलमा एनेस्थेसियाबिना शल्यक्रिया भइरहेको पाइएकोले सो व्यवस्थापन मिलाई मापदण्डमा आउन दुई महिनाको समय तोकेको छ । यस्तै राजविराजकै युनिक सिटी अस्पतालाई पनि नवीकरण गर्न निर्देशन दिइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close