साहिब दरबार सेवा संस्थानद्धारा वीरगञ्जमा रक्तदान कार्यक्रमको आयोजना, १ सय २६ जनाले गरे रक्तदान

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंह जितेको खुसियाली मनाउन आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिंह जितेको खुसियाली फरक तरिकाले मनाउन र मानवीय कार्य गर्ने सोचका साथ जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति पर्सा र साहिब दरबार सेवा संस्थान वीरगञ्जले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २६ पिन्ट रगत संकलन भएको जनाइएको छ ।
यहाँस्थित राणीसती अतिथी सदनमा बिहीबार बिहान ७ बजेदेखि शुरु भएको कार्यक्रममा ८ जना महिलासहित १ सय २६ जनाले रक्तदान गरेको जसपाका युवा नेता शशिकान्त सर्राफले जानकारी दिए ।
स्थानीय निर्वाचन र बढ्दो गर्मीका कारण रक्तदान कार्यक्रममा कमी आउँदा केही समय यता वीरगञ्जमा रगतको अभाव सृजना भएको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ । रगत अभावमा यहाँका डेढ दर्जन अस्पतालमा भर्ना भएका विरामीहरुको उपचारमा समस्या आउन थालेपछि जसपा र साहिब दरबार संस्थाले रगतको अभावलाई पूर्ति गर्न संयुक्त कार्यक्रम आयोजना गरेको सर्राफले बताए ।
रक्तदान कार्यक्रममा वीरगञ्जका नवनिर्वाचित मेयर राजेशमान सिंह, सङ्घीय सांसद् प्रदीप यादव, जसपाका महानगर अध्यक्ष इश्वर चन्द्र यादव लगायतले रक्तदान गरेकाहरुलाई प्रमाण पत्र वितरण गरेका छन् ।






