आम जनता पार्टीले वीरगञ्जमा भ्रष्टाचारविरुद्ध खबरदारी

वीरगञ्ज । आम जनता पार्टीले वीरगञ्जको बिपि उद्यानमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीका अध्यक्ष प्रभु साहले सरकारप्रति कडा चेतावनी दिएका छन् । वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने जोड दिँदै उनले भने, “काठमाण्डौ प्रशासनिक राजधानी, पोखरा पर्यटकीय राजधानी बनेको छ । वीरगञ्जलाई आर्थिक राजधानी नबनाए यहाँका जनता चुप लागेर बस्नेवाला छैनन् ।”
सभालाई सम्बोधन गर्दै साहले नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, “यीनै जनताले राजालाई दरबारबाट निकाल्न सक्छन् भने नेतालाई पनि कुर्सीबाट फाल्न पछि पर्दैनन् ।”
साहले वर्तमान कर प्रणालीलाई आलोचना गर्दै भने, “आज करको भारीले उद्योगधन्दा बन्द भएका छन् । सरकारले व्यक्तिले सञ्चालन गर्ने टेम्पोबाट कर उठाउँछ तर साझा बस चलाउन सक्दैन । यो अन्याय हो । गरिबहरूलाई करको मारमा पारेको छ ।” उनले थपे, “भारत र चीनभन्दा चार गुणा बढी कर लिन्छौँ भने विकास पनि चार गुणा बढी हुनुपर्छ ।”
साहले मधेश प्रदेशलाई बजेटमा विभेद गरिएको भन्दै आक्रोश व्यक्त गरे । “मधेश प्रदेशले बढी राजस्व दिए पनि बजेट दिइँदैन । कर उठाएर विकास गर्नुपर्ने हो तर यहाँ उल्टो भइरहेको छ,” उनले भने ।
प्रभु साहले आफ्नो साढे पाँच महिनाको मन्त्रालयकालमा ७ हजार ४ सय करोडका ठेक्काहरू गराएको, १५ हजार छात्रालाई साइकल वितरण र २८ हजार जनतालाई ग्यास सिलिण्डर उपलब्ध गराएको तथ्य प्रस्तुत गरे । उनले भने, “वीरगञ्जका पिच सडकमध्ये ३ सय करोड भन्दा बढीको ठेक्का मैरै कारण भएको हो ।”
मौलापुर नगरपालिकामा कर नलिइकन पनि नमुना विकास गर्न सफल भएका उनले दाबी गरे । शिक्षा क्षेत्रमा पनि कुनै काम हुन नसकेके उनको भनाई छ । साहले भने, “देशभरको एसईई नतिजा कमजोर भएको बेला मौलापुरमा ७५ प्रतिशत नतिजा आएको छ । मौलापुरमा निजी स्रोतबाट विकास सम्भव भएको छ । सरकारलाई पनि जनताका लागि सेवा गर्ने सोच राख्न आवश्यक छ ।”
उनले थपे, “सरकारले जनताको करको दुरुपयोग गरिरहेको छ । अब यो जनताले सहने छैनन् । जनताको आवाज दबाउने काम भयो भने यो आन्दोलन कडा रुपमा अघि बढ्नेछ ।”
उनकाअनुसार देशको ४७ प्रतिशत भुभागमा जंगल छ, तर त्यसले सरकारको आम्दानी हुँदैन । सरकारको मातहतको पूर्वाधारबाट आम्दानी पनि हुनुपर्ने आवश्यक्ता औँल्याए ।
यस खबरदारी सभाले सरकारप्रति आम जनताको असन्तुष्टि उजागर गर्ने र वीरगञ्जलाई आर्थिक राजधानी बनाउन र मधेश प्रदेशलाई बजेटमा प्राथमिकता दिन दबाब सृजना गर्ने उनले बताए ।