विद्यालयका रसिद ठेली नगरपालिकाकाे नियन्त्रणमा

रौतहट : रौतहटको सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयले मनपरी शुल्क लिएको गुनासो आएपछि सो विद्यालयका रसिद ठेली गौर नगरपालिकाले नियन्त्रणमा लिएको छ।
जुद्ध माविका विद्यार्थीहरूबाट विभिन्न बहानामा शुल्क लिइरहेको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह समक्ष उजुरी आएपछि उनी विद्यालयमै पुगेर रसिदसहित विभिन्न कागजात नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ।
विद्यार्थीहरूसँग कुनै पनि बहानामा शुल्क नलिने सहमतिविपरीत सो माविले अनुदान सहयोगको नाममा प्रत्येक विद्यार्थीसँग ४० रूपैँया असुल गरेको देखिन्छ। विद्यार्थीको गुनासो पश्चात आज गौर नगरपालिकाले कारवाही अघि बढाएको नगर प्रमुख साहले बताए।
नगर प्रमुख साहले माविका जिम्मेवार व्यक्तिमाथि कारवाही गर्न लागेको बताए। विगत केही वर्षदेखि विभिन्न बहानामा विद्यार्थीहरूबाट शुल्क असुल गर्दै आएको र पटक–पटक यसै विषयमा विद्यार्थीहरूले आन्दोलन गरी नगरपालिकामा उजुरीसमेत दिँदै आएका थिए।





