नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८८ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।
कात्तिक ३० गते, शुक्रबार, सिटी अफिस वीरगन्जको कार्यालयमा आयोजित कार्यक्रममा शाखा प्रवन्धक संगीता पोखरेलले केक काटेर उद्घाटन गर्नु भयो ।

उक्त कार्यक्रममा अतिथिका रूपमा मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय कुमार यादव, वीरगन्ज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख डा.कल्पना पौडेल लगायत विभिन्न कर्जा तथा निक्षेप ग्राहकहरू र सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
शाखा प्रवन्धक पोखरेलले नेपाल बैंक लिमिटेडले ८७ वर्ष सफलतापूर्वक पूरा गरी ८८औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी, नेपाल सरकार तथा सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो। उहाँले बैंकले आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय, आधुनिकीकरणमा आधारित र विश्वसनीय बैंकिङ सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले “बजारको आवश्यकता अनुसार छिटोछरितो सेवा प्रवाह गर्दै, ग्राहकहरूसँगको सहकार्यलाई निरन्तरता दिनेछौं । साथै, लाइनमा बस्नुपर्ने, थुप्रै कागजी प्रकृया पूरा गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै डिजिटाइजेसन मार्फत सम्पुर्ण सेवालाई थप प्रभावकारी बनाउनेछौं।”

साथै, उहाँले ग्राहकहरूको व्यवहारिक ढाँचाले नै भविष्यमा बैंकिङ सेवाका उत्पादनहरू निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने र बैंकले ग्राहकको आवश्यकतासँग मेल खाने सेवा तथा सुविधा प्रदान गर्न ध्यान दिने बताउनुभयो।
कार्यक्रममा बैंकले आफ्नो विगत, वर्तमान र भविष्यका योजना प्रस्तुत गर्दै ऐतिहासिक रूपमा ग्राहकको विश्वास जित्दै आएको उल्लेख गर्नुभयो। वक्ताहरूले बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रमा समेत वित्तीय पहुँच पुर्याउन खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमका क्रममा शाखा प्रबन्धक पोखरेलले बैंकका कर्मचारीहरूको मिहिनेत, सहयोग र सहकार्यकै कारण संस्थाले सफलता हासिल गरिरहेको बताउँदै, ग्राहकका अपेक्षाहरू पूरा गर्न थप समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल बैंक लिमिटेड सिटी अफिस वीरगंजले आफ्नो यो ऐतिहासिक यात्रा अझ उज्यालो र फराकिलो बनाउन सबै ग्राहक, सेयरधनी र सरोकारवालाको निरन्तर समर्थनमा विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको सञ्चालन सहायक शाखा प्रवन्धक सुजन खड्काले गर्नुभएको थियो।






