बहुमतले ‘स्वतन्त्र’ उम्मेदवारको पक्ष लिएपछि बारा काँग्रेसमा ध्रुबीकरण

बारा : बारा क्षेत्र नम्बर ४ मा मा काँग्रेस सिध्याउन खोजिएको भन्दै ‘स्वतन्त्र’ उम्मेदवार इच्छाबहादुर वाग्लेलाई पार्टीको आधिकारिक समर्थन दिनुपर्ने विषय बारा काँग्रेसमा उठेको छ ।
शुक्रबार कलैयामा बसेको जिल्ला कार्यसमिति बैठकमा काँग्रेस सिध्याउने षडयन्त्रका विरुद्ध खडा भएका वाग्लेको पक्षमा लाग्दा भोग्नुपर्ने जुनसुकै कार्वाही आफूहरुलाई मान्य हुने भन्दै बहुमत सदस्यहरुले आधिकारिक रुपमै काँग्रेसले वाग्लेलाई समर्थन गर्नुपर्ने आवाज उठाएका  हुन् ।
जनाधारनै नभएको एकिकृत समाजवादीलाई प्रतिनिधि सभामा मत माग्न नसकिने भन्दै काँग्रेस जिल्ला कार्यसमितिका बहुमत सदस्यले पार्टी नेतृत्वले लादेको गठबन्धनलाई स्विकार्न नसकिने आवाज उठाएको जिल्ला कार्यसमितिका एक सदस्यले हेडलाईनलाई बताए ।
केन्द्रले गरेको गठबन्धनका पक्षधर र विपक्षी दुई खेमामा विभाजित बनेपछि बारा काँग्रेसमा विवाद बढ्ने संकेत देखिएको छ । जिल्ला सभापतिकै भाई स्वतन्त्र उम्मेदवार बनेको भन्दै एकजना गठबन्धन पक्षधर सदस्यले बागी उम्मेदवार जिताउने अभियानमा जिल्ला सभापतिनै लाग्न सक्ने बताए । नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादबका भाई रोशन यादबले बारा क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने विशेषगरी बारा ४ का काँग्रेस नेताहरुले स्वतन्त्र उम्मेदवारका रुपमा उभिएका काँग्रेस नेता ईच्छाबहादुर वाग्लेको पक्ष लिएपछि क्षेत्रीय समिति समेत संकटमा परेको छ । क्षेत्रीय सभापति सुनील गुप्ताले शनिबार क्षेत्रीय समितिको बैठक समेत बोलाएका छन् ।

बारा ४ बढि चर्चामा
चारवटा निर्वाचन क्षेत्र रहेको बारामा क्षेत्र नम्बर ४ को विषय बढि चर्चामा छ । यसको मूख्य कारण भनेको प्रतिनिधि सभा र प्रदेश सभाका दुबै क्षेत्र काँग्रेसले अन्य दललाई छोड्नु हो । एकिकृत समाजवादीलाई प्रतिनिधि सभा छाडेको काँग्रेसले प्रदेश सभा समेत लिन नसकेको भन्दै क्षेत्र नम्बर ४ मा बढि विवाद छ । यहाँ प्रतिनिधि सभातर्फ एकिकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ उम्मेदवार छन् भने प्रदेश सभा (क) मा माओबादी केन्द्र बाराका संयोजक समेत रहेका क्षेत्रबहादुर श्रेष्ठ उम्मेदवार छन् । यस्तै प्रदेश सभा (ख) मा मधेश प्रदेशका पूर्वमन्त्री जितेन्द्र सोनल उम्मेदवार छन् ।
पार्टीको निर्णय विरुद्ध प्रदेश सभा (क) मा उम्मेदवारी दिएकी नेतृ नारायणी रायमाझीले गठबन्धनलाई समर्थन गर्ने बताएकी छन् तर उनको उम्मेदवारी निर्वाचन कार्यतालिकाले तोकेको समय सिमामा फिर्ता नभएकाले मतपत्रमा उनले लिएको ‘जेब्रा’ चुनाब चिन्ह भने रहनेछ ।
यस्तै प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका नेता ईच्छाबहादुर वाग्लेले भने कुनैपनि अवस्थामा आफ्नो उम्मेदवारी फिर्ता नहुने र ‘चापाकल’ चुनाब चिन्हलाई काँग्रेसको चुनाब चिन्ह सम्झीन आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close